२४ साउन जनकपुरधाम। आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा देशभर वैदिक सनातन धर्मावलम्बीहरूले जनै पूर्णिमा (ऋषितर्पणी) र रक्षाबन्धन पर्व उल्लासपूर्वक मनाए। बिहानैदेखि तीर्थस्थल, नदी, पोखरी र तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रसहित नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र बाँध्ने परम्परा पालना गरियो।
जनैलाई उपवीत, यज्ञसूत्र वा ब्रह्मसूत्र पनि भनिन्छ। उपनयन संस्कार सम्पन्न भएकाहरूले वर्षमा एक पटक यो दिन जनै फेर्ने प्रचलन छ। उपनयनको अर्थ ‘भगवानतत्वसँग नजिकिने प्रक्रिया’ हो, जसलाई जीवनका १६ संस्कार मध्ये अत्यन्त महत्वपूर्ण मानिन्छ। धार्मिक विश्वासअनुसार, गुरु–पुरोहित द्वारा मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्र धारण गरे नकारात्मक शक्तिबाट सुरक्षा मिल्छ।

यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजुभाइको दाहिने हातमा राखी बाँधेर दीर्घायु, स्वास्थ्य र सफलताको कामना गर्छन्। बदला स्वरूप दाजुभाइले दिदी–बहिनीलाई उपहार दिई हरेक परिस्थितिमा साथ र सुरक्षा दिने वचन दिन्छन्।
रक्षाबन्धन संस्कृत शब्द ‘सुरक्षाको गाँठो’ बाट बनेको हो, जसले दाजुभाइ र दिदीबहिनीको अनन्त स्नेह र विश्वासको प्रतीक बोकेको हुन्छ। यो चाड केवल रगतको नातामा सीमित नभई आफूले दिदी–बहिनी वा दाजुभाइ मानेका सबैसँग मनाइन्छ। नेपालको तराई क्षेत्र, भारत, बङ्गलादेश लगायतका देशहरूमा यो पर्व विशेष उत्साहका साथ मनाइने परम्परा रहेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्