२५ साउन,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८, विहार कुण्ड स्थित ऐतिहासिक युगल विनोद कुञ्ज मन्दिरमा यस वर्षको वार्षिक झुला उत्सव शनिबार धूमधामका साथ सम्पन्न भएको छ। मन्दिरका महन्त श्री उदय कान्त शरणका अनुसार, प्रत्येक वर्ष झैं यस पटक पनि श्रावण महिनाको विशेष अवसरमा भगवान् रामचन्द्र र माता किशोरीजीलाई अन्तिम पटक झुलाउँदै झुलनोत्सवको समापन गरिएको हो।

श्रावण शुक्ल तृतीया देखि पूर्णिमासम्म सञ्चालन भएको यस उत्सवमा दैनिक रूपमा भगवान् राम–सीताको प्रतिमा लाई कलात्मक पालकीमा राखी, बाजागाजा र भजनकीर्तनसहित झुलाइन्थ्यो। रंगीन झूला, फूल-मालाले सजिएका मूर्तिहरू, आकर्षक झाँकी र भक्तिमय संगीतले सम्पूर्ण मन्दिर परिसरलाई मनमोहक बनाएको थियो।

भजन कीर्तन मार्फत वातावरणलाई भक्तिमय बनाउने कलाकारमा प्रिया झा, अनुज कुमार झा, स्नेहा कुमारी मिश्र, महन्त उदय कान्त शरण तथा भारत, बिहार (मधुबनी)का नितेन्द्र झा प्रमुख रूपमा रहेका थिए। झूला पूजाको अवसरमा विशेष पूजा, भजन–कीर्तन र प्रसाद वितरण गरिएको थियो।

उत्सवमा साधु–सन्त, महात्मा, बाहिरी जिल्लाका श्रद्धालु, स्थानीय बासिन्दा, महिला, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।मिथिला क्षेत्रमा रोपाइँ सकिए लगत्तै सुरु हुने यो पर्वमा राति अबेरसम्म कजरी र मलार जस्ता गीतको धुन गुञ्जने परम्परा छ।

श्रद्धालुहरू भजनकीर्तन, नाचगान र रामलीलामा सहभागी भई मध्यरात सम्म जाग्राम बस्ने प्रचलन रहिआएको छ। धार्मिक मान्यता अनुसार, झुला पर्वको आरम्भ त्रेतायुगमै भएको मानिन्छ।



















आफ्नो प्रतिकृया दिनुहोस्