११ भदौ,काठमाडौं । आज देशभर गणेश चतुर्थी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। भगवान् गणेशको पूजा आराधना गरी हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने परम्परा रहेको छ। शास्त्रीय मान्यता अनुसार सत्ययुगमा यसै दिन शिवपार्वतीका सुपुत्र गणेशको जन्म भएको थियो।
गणेशलाई विघ्नहर्ता, बुद्धि र ज्ञानका देवताका रूपमा पूजा गरिन्छ। धार्मिक कर्मका प्रत्येक कार्यमा अग्रपूजाको अधिकार गणेशलाई प्राप्त छ। यस दिन विशेष गरी व्रतालुहरूले सुखद दाम्पत्य जीवन, परिवारको सुखशान्ति र जीवनमा अवरोध नआओस् भन्ने कामना सहित गणेशको पूजा गर्ने उल्लेख गणेश पुराणमा पाइन्छ।
आज बिहान हरितालिका (तीज) व्रत समापन गर्ने महिलाहरूले पारायण गरी, मध्याह्नकालमा गणेशको विधिपूर्वक पूजा गरी अर्घ्य अर्पण गर्ने चलन छ। नेवार समुदायमा यो पर्वलाई ‘चथा:’ नामले मनाइन्छ, जस अन्तर्गत बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा प्रचलित छ।
यसै दिन विसं २०६४ मा राष्ट्रिय धर्मसभा स्थापना भएकाले गणेश चतुर्थीलाई धर्मसभाको स्थापना दिवसको रूपमा पनि मनाइने गरिएको छ। विसं २०६५ देखि काठमाडौं उपत्यकासहित प्रमुख शहरहरूमा गणेश रथयात्रा निकाल्ने परम्परा सुरु भएको छ, जसमा हजारौँ भक्तजन सहभागी हुने गरेका छन्।
गणेश चतुर्थीका अवसरमा आज जनकपुरधामको राम चौक स्थित गणेश मन्दिर लगायत काठमाडौं उपत्यकाका सूर्य विनायक, कमल विनायक, अशोक विनायक, चन्द्रविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। राजधानीमा आज विशेष सजावट सहित मन्दिरहरूमा पूजापाठ र भजन कीर्तन चलिरहेको छ।
धार्मिक विश्वास अनुसार यस दिन गणेशको पूजा गर्ने व्यक्ति जीवनमा धन, बुद्धि, विद्या र सुखसम्पत्तिको प्राप्ति गर्ने धारणा छ। भक्तजनहरूले विशेषगरी दूर्वा, लड्डु, फलफूल र धूपदीप अर्पण गरी गणेशलाई प्रसन्न पार्ने गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्