जनकपुरधाम । बडादशैँ तथा नवरात्रको तेस्रो दिन सोमबार देशभर नवदुर्गा मध्येकी तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विशेष पूजा–आराधना गरिँदैछ। दशैँघर, मठ–मन्दिर र पूजा कोठामा भक्तजनले विधिपूर्वक पूजा गर्दै देवीको कृपा प्राप्त गर्ने विश्वास राखेका छन्।
पौराणिक ग्रन्थ अनुसार, शिरमा अर्धचन्द्र र हातमा चन्द्राकृति घण्टा धारण गर्ने भएकाले यस देवीलाई ‘चन्द्रघण्टा’ भनिएको हो। यिनी करुणामयी, शान्त र ऐश्वर्यदायिनी भए पनि दानवीय शक्तिहरूको नाश गर्ने शक्तिशाली रूपकी रूपमा वर्णन गरिन्छ।
धर्मशास्त्रीहरूको भनाइ अनुसार, चन्द्रघण्टा देवीको ध्यानले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहि आएको छ। विशेषगरी संगीत तथा कला क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि आजको दिनको पूजा अत्यन्त फलदायी हुने मानिन्छ।
यस अघि नवरात्रको पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा सम्पन्न भएको थियो। अब क्रमश: कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको आराधना हुँदै जानेछ।
जनकपुरमा विशेष कार्यक्रम
जनकपुरधाम स्थित र आसपासका शक्ति पीठहरूमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ। महिलाहरू लाल र पहेंलो रङका भेषभूषामा सजिएर देवीको आराधनामा सहभागी भएका छन् भने युवा पुस्ताले सामाजिक सञ्जाल मार्फत उत्सवलाई प्रचार प्रसार गरेका छन्।
जनकपुर उपमहानगरपालिकाले नवरात्र र दशैँलाई लक्षित गर्दै सफाइ अभियान, यातायात व्यवस्थापन र सुरक्षाका लागि विशेष तयारी गरेको छ। मन्दिर परिसर तथा भीडभाड हुने स्थानहरूमा प्रहरीको उपस्थिति बढाइएको छ।
सांस्कृतिक महत्त्व
नवरात्र पर्व केवल घरभित्रको साधना मात्र नभई जनकपुरको सांस्कृतिक तथा धार्मिक पहिचान सँग गाँसिएको ठूलो पर्व मानिन्छ। विजयादशमी र कोजाग्रत पूर्णिमा सम्म निरन्तर चल्ने यस पर्वमा यहाँका होटल, बजार र यातायात क्षेत्रमा पनि चहलपहल बढेको छ।
धर्मगुरुहरूको भनाइमा, “चन्द्रघण्टा देवीको आराधनाले भक्तजनमा आस्था, शक्ति र संयम जागृत हुन्छ, जसले समाजलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्दछ।”



















आफ्नो प्रतिकृया दिनुहोस्