जनकपुरधाम : १५ दिन लामो बडादशैं पर्व आज कोजाग्रत पूर्णिमाका अवसरमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना सहित औपचारिक रूपमा समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाको रातमा महालक्ष्मीको विशेष पूजा गरी जाग्राम बस्ने परम्परा छ । दशमी सम्म देवी दुर्गाको आराधना गरिए पनि, पूर्णिमामा सम्पन्नता र समृद्धिकी प्रतीक देवी महालक्ष्मीको पूजा गरी दशैं पर्व समाप्त गर्ने चलन रहँदै आएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नु पर्ने प्रचलन छ । अखिल बलिपूर्ति सम्पन्न भए सँगै विजयादशमी देखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । साथै आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी वा पवित्र तीर्थस्थलमा लगी सेलाउने धार्मिक परम्परा रहेको छ ।
माता दुर्गाका तीन रुप मध्ये महालक्ष्मीको विशेष आराधना गरेर आज दुर्गा पक्षलाई बिदा गर्ने चलन छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमा सम्म चल्ने धार्मिक मान्यता छ । लक्ष्मी पूजाको १५ दिन अघि महालक्ष्मीको आराधना हुने भएकाले यस पर्वको विशेष महत्व रहेको बताइन्छ ।
यस दिन महालक्ष्मी सँगै हात्तीमा आरूढ इन्द्रको पनि पूजा गर्ने परम्परा छ । यो पूर्णिमालाई कौमुदी पूर्णिमा भनेर पनि चिनिन्छ ।यता, जनकपुर र सम्पूर्ण मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमाको उत्सव विशेष धुमधामका साथ मनाइन्छ । यहाँका मठ–मन्दिर, घर–आँगन र गली–चोकहरूमा दीपमाला सहित लक्ष्मीपूजा गर्ने, जाग्राम बस्ने, गीत–भजन गाउने परम्परा छ ।
जनकपुरधाम स्थित जानकी मन्दिर ,राम मन्दिर तथा महोत्तरी स्थित मटिहानी को लक्ष्मी–नारायण मन्दिर लगायतका धार्मिक स्थलमा हजारौं भक्तजनको भीड लाग्ने गर्दछ । मिथिला क्षेत्रमा यो पर्वलाई घरमा सुख–समृद्धि र लक्ष्मीको वास ल्याउने दिनका रूपमा मानिन्छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्