३० भाद्र,झापा: पूर्व-प्रधानमन्त्री एवं नेकपा मोओवादी केन्द्रका अध्यक्ष् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८४ साल मा झापाको कुनै क्षेत्र बाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन् ।आइतबार झापाको बिर्तामोड मा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झापा मा माओवादी प्रति आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापा बाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए ।
‘जित सत्य र न्यायको हुन्छ कि, बेइमान हरुको हुन्छ भनेर हेर्नका लागी पनि झापा बाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सके जति काम गर्न सकेको कारणले जनताले हामी लाई नै खोजिरहेका छन, शिक्षित झापाली जनताले हामी माथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ ।’
‘जनता माझ हाम्रो क्रेज बढ्न थाले पछि एकथरी प्रतिक्रिया वादीहरु हामी लाई फुटाउने प्रयास गरिरहेका छन् । यो कुरा नयाँ होइन, जनयुद्ध, जन-आन्दोलन, शान्ति प्रक्रिया लगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन, हामीले ती सबै प्रयासहरु लाई निरर्थक बनायौं, प्रचण्डले भने–‘केही दिन अघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकता लाई सधैको लागी अन्त्य गरेको छ, हामी अहिले एक ढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरु पनि चाँडै एकिकृत हुँदैछौ ।’
आगामी निर्वाचन बाट नेकपा माओवादी पार्टी मुलुककै ठुलो दलका रुपमा उदाउने उनले बताएका छन् ।मोरङ, सुनसरी र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुन पुर्व आएका प्रचण्डले ६४ सालमा माओवादी लाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोबिज्ञान बुझ्न निर्देशन दिएका छन् ।
उनले ६४ मा मत दिने जनता सँग माफी माग्न, बिदेश गएका नागरिकको सुचि तयार गर्न र ६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोबिज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
जनयुद्ध गरी रहेका माओवादी लाई नेपाली राजनीतिको मुलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको उनले बताए । ‘उहाँहरुको संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हामी सहमत भएको भए उहाँहरुले ल्याएको भन्न सकिन्थ्यो, प्रचण्डले भने–‘उहाँहरु नै हामीले अघि सारेको मुद्दा गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक निर्वाचन प्रणालीमा समाहित भएर आउनु भएको छ । उहाँहरुको अस्तित्व चै माओवादीले जोगाइ दिएको हो ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लाई बिश्वास गरेर गम्भीर गल्ती गरेको उनले बताए । ‘दुई तिहाईको सरकारको नेतृत्व गरेको समयमा संविधान च्यात्न खोज्ने ओली लाई अब सुध्रिए कि, भनेर मैले दोस्रो पटक विश्वाश गर्दै उनको समर्थनमा प्रधानमन्त्री बने, तर ओली सुध्रिनु त कता हो कता, उनी जस्तो अनैतिक, बेइमान र भ्रष्टहरुको संरक्षक अरु कोही रहेन छ ।’ प्रचण्डले केपी ओली लाई सुधार्नु भनेको गधा लाई धोएर गाई बनाउनु जस्तै भएको प्रतिक्रिया दिए ।
दुनियाँमा कतै नभएको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने काम नेपालमा भएको उनले बताए । भारत र अमेरिका लगायतका देशको उदाहरण दिदै प्रचण्डले अप्राकृतिक गठबन्धन बाट बनेको सरकार धेरै समय नजाने टिप्पणी गरे । उनले ८४ साल सम्ममा माओवादी सरकारमा नजाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमालेका पुराना नेता तथा तत्कालिन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सिता रणपहेली, मोहन योगी, जगत राई लगायत २ सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्