४ फागुन,जनकपुर । नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज देखि विधिवत रूपमा शुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–ठेरा कचुरीबाट भगवान् श्रीराम र माता जानकीको डोला सहित परिक्रमा प्रारम्भ गरिएको हो । उद्घाटन समारोह मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले डोला उठाएर गरेका हुन् । कार्यक्रममा धार्मिक अगुवा, साधुसन्त, स्थानीय जनप्रतिनिधि तथा हजारौँ श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
परिक्रमाको पहिलो दिन जनकपुरधाम स्थित हनुमाननगरमा विश्राम गरी सहभागी साधुसन्त तथा भक्तजनहरूले भोलि पल्ट बिहान पूजापाठ सम्पन्न गरेर भारतको बिहार राज्य स्थित कल्याणेश्वर तर्फ प्रस्थान गर्ने छन् । परिक्रमा मार्ग अनुसार सहभागीहरू फूलहरको गिरीजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता (क्षीरेश्वरनाथ), धनुषाधाम, औरही, विशौल हुँदै पुन: कल्याणेश्वर पुग्नेछन् । त्यसपछि फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किएर पाँच कोशे अन्तर्गृह परिक्रमा सम्पन्न गरेपछि यो धार्मिक यात्रा समापन हुनेछ ।

हरेक वर्ष आयोजना हुने यस परिक्रमामा भक्तजनहरूले नेपाल र भारतका विभिन्न तीर्थस्थल हुँदै करिब १३३ किलोमिटर दूरी पैदल यात्रा गर्ने परम्परा रहेको छ । धार्मिक विश्वास अनुसार त्रेतायुग देखि चली आएको यस यात्राले भगवान् राम–जानकीको विवाह र मिथिलाको पौराणिक परम्परासँग गहिरो सम्बन्ध राख्ने मानिन्छ । परिक्रमा अवधिभर भजन–कीर्तन, रामकथा, प्रवचन तथा धार्मिक सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले रामायण सर्किट विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताए । उनले जनकपुरधाम र अयोध्या बीच धार्मिक तथा पर्यटन सम्पर्क विस्तार गर्न भारतका सरोकारवाला सँग प्रत्यक्ष छलफल गर्ने योजना रहेको उल्लेख गरे । साथै जनकपुरधाम विमानस्थल विस्तार गरी अयोध्यासँग प्रत्यक्ष हवाई सम्पर्क कायम गर्ने योजना प्रदेश सरकारले अघि बढाएको जानकारी पनि दिए ।

सो क्रममा “मिथिला माध्यमिकी परिक्रमा हाम्रो मिथिलाको पहिचान र आस्थाको ठूलो प्रतीक हो । यसले नेपाल–भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउँछ । परिक्रमा अवधिमा यहाँ आउने श्रद्धालुहरूले हाम्रो संस्कृति, परम्परा र अतिथि सत्कारलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउँछन्, जसले स्थानीय पर्यटन र अर्थतन्त्रलाई पनि ठूलो टेवा पुर्याउँछ ।” महोत्तरी लोहारपट्टीका स्थानीय शिक्षक सुभाष कुमार मण्डलले बताए ।
परिक्रमा अवधिभर श्रद्धालुहरूको सुरक्षा, भीड व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक समूह तथा धार्मिक संस्थाहरू सक्रिय रहेका छन् । परिक्रमा क्षेत्रमा नि:शुल्क भोजन सेवा (भण्डारा) र स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको छ । मिथिला माध्यमिकी परिक्रमा मधेश प्रदेशकै सबैभन्दा ठूलो धार्मिक उत्सव मध्ये एक मानिन्छ, जसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र र व्यापार व्यवसायलाई समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्