१२ फागुन,काठमाडौं । मतदाता शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले पाँच वटा संस्थाले संयुक्त रूपमा ‘म्यानिफेस्टोमा के छ ?’ शीर्षकको कार्यक्रम आयोजना गरेका छन् ।कार्यक्रम जेन जेड सिभिक फोरम, जेन जेड मुभमेन्ट एलायन्स, डेमोक्रेसी रिसोर्स सेन्टर, युथ इन फेडरल डिसकोर्स र एडभोकेसी फोरम नेपालको उपस्थितमा भएको हो ।
राजनीतिक दलहरूले घोषणापत्रमा गरेका प्रतिबद्धता कार्यान्वयन गराउन युवा पुस्ताले निगरानी बढाउन यस्तो कार्यक्रम गरिएको आयोजकहरुले जनाएका छन् ।मंगलबार आयोजित ‘म्यानिफेस्टोमा के छ ?’ कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थी मजिद अन्सारीले जेनजी आन्दोलन र सरकारबीच भएको १० बुँदे सम्झौताका विषयलाई दलहरूले घोषणापत्रमा कसरी समेटेका छन् भन्ने अध्ययन गरिएको बताए ।

उनले भने, ‘हामीले दलहरूले गरेका वाचाहरूलाई वर्गीकृत गरेर सार्वजनिक गरेका छौँ। कुनै एजेन्डा एक दलले मात्र उठाएर हुँदैन, सबै दलले स्वामित्व लिए मात्रै कार्यान्वयन सम्भव हुन्छ ।’ उनका अनुसार कार्यक्रममा श्रम नीति, भूमि नीति, आर्थिक नीति र सुशासन सम्बन्धी प्रतिबद्धता संकलन गरी साझा एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ ।
यस्तै, कार्यक्रमकी आयोजक समेत रहेकी मोनिषा चौधरीले घोषणापत्र अध्ययनलाई श्रृंखलाबद्ध रूपमा अघि बढाइएको बताइन् ।उनले भनिन्, ‘सबैले घोषणापत्र पढ्न भ्याएका हुँदैनन्, त्यसैले हामीले अध्ययन गरेर सेक्टर अनुसार विभाजन गर्दै सहभागीलाई मूल्यांकन गर्ने अवसर दिएका छौँ।’
यस्तै अधिवक्ता प्रज्वल विक्रम राणाले आ मतदाताहरुमा घोषणापत्र नपढेरै भोट हाल्ने संस्कृति रहको भन्दै बुझेर मात्रै भोट गरौँ भन्ने मुख्य उद्देश्य रहेको बताए।उनले भने, ‘पार्टीहरूले निकाल्ने घोषणापत्र नपढेरै भोट हाल्ने संस्कृति छ। त्यसैले अब घोषणापत्र पढ्ने बानी बसालौँ, के छ भन्ने बुझेर मात्रै भोट गरौँ भन्ने हाम्रो मुख्य उद्देश्य हो। यो मतदाता शिक्षाभित्र पर्ने विषय हो।’
कार्यक्रमका क्रममा आठ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी सात प्रमुख विषयगत क्षेत्रमा विभाजन गरिएको छ । ती विषयमा दलहरूले गरेका प्रतिबद्धता संक्षेपमा प्रस्तुत गरिएको छ ।
सहभागीलाई घोषणापत्रको सारांशका आधारमा आफूलाई उपयुक्त लागेको एजेन्डामा मत दिन सक्ने व्यवस्था गरिएको आयोजकले बताए । सो मतदानबाट कुन दलको प्रतिबद्धता बढी प्रभावकारी देखिएको छ भन्ने पनि मूल्यांकन गरिने जनाइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्