१९ फागुन,जनकपुरधाम : आज साँझ नेपालभर खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। खगोलविद्हरूका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु यस पटकको विशेषता रहनेछ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार आज दिउँसो ३:३२ बजेबाट ग्रहण लाग्न सुरु हुनेछ। साँझ करिब ५:१२ बजे पूर्ण खण्डग्रास अवस्था सुरु हुने छ। काठमाडौँमा चन्द्रमा साँझ ठीक ६:०४ बजे उदाउनेछ र उदाउँदा नै यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाँले ढाकिएको देखिनेछ। साँझ ६:४४ बजे ग्रहण अधिकतम अवस्थामा पुग्नेछ।
उनका अनुसार चन्द्रमा क्षितिजबाट माथि उठ्दै जाँदा ग्रहणको दृश्य अझ स्पष्ट हुँदै जानेछ। खण्डग्रास अवस्था राति करिब ८:२३ बजेसम्म रहनेछ भने पूरा ग्रहण राति ९:५५ बजे समाप्त हुनेछ।
विशेषगरी काठमाडौँ उपत्यका सहित देशका अधिकांश स्थानबाट यो खण्डग्रास चन्द्रग्रहण सजिलै अवलोकन गर्न सकिनेछ। चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिने भएकाले सर्वसाधारणमा समेत उत्सुकता बढेको छ। नेपालमा भने चन्द्रमा ६:०४ बजे उदाउँदा नै ग्रहण लागेको देखिने भएकाले अवलोकन गर्ने मुख्य समय ६:०४ बजेपछि करिब ८:३० बजेसम्म उपयुक्त रहनेछ।
खगोलविद्हरूले चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने स्पष्ट पारेका छन्। सूर्यग्रहणभन्दा फरक रूपमा चन्द्रग्रहणले आँखामा प्रत्यक्ष असर नगर्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा हेर्न सकिन्छ। आकाश सफा रहेमा आजको खण्डग्रास चन्द्रग्रहण खगोलप्रेमीका लागि आकर्षक दृश्य बन्ने अपेक्षा गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्