२७ असार,काठमाडौँ :प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देश सहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो । उक्त विधेयकउपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।

यौन हिंसा सम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद झपट बहादुर रावलले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो । नेपालको संविधानको धारा ९४ मा संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न नपाइने प्रावधान छ ।
सांसद रावलको नियमापत्तिपछि सभामुख सापकोटाले ३ मिनेट जनाउ घण्टी बजाएर सांसदहरुको संख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनु भएको थियो । सांसदहरुको संख्या कम्तीमा ६९ हुनुपर्नेमा गणना गर्दा ७७ सांसदको उपस्थिति रहेको पाइए पछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । (रासस)
आफ्नो प्रतिकृया दिनुहोस्