जनकपुरधाम : नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् ।आज बेल्को होम अप्लायन्सेसको शाखा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किने वाला छैन । गणतन्त्र नेपाली जनताले ल्याएको हो । यो निरन्तर रुपमा कायम रहन्छ । काठमाडौंको कुनै गल्ली र चोकमा यसो जुलुस निकालेर केही हुँदैन ।’
नेपाली जनताले बलिदान गरेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली निरन्तर रहने बताए ।‘अहिले सबै राजनीतिक पार्टीले सात वटै प्रदेशलाई प्रहरी संगठन दिने पहिलो काम गर्नु पर्ने छ ।
सात वटै प्रदेशमा उसको आफ्नो कर्मचारी प्रशासन हुनुपर्यो, यो दुई वटा काम तत्काल आवश्यक छ’ निधिले भने, ‘यसका लागि मधेश प्रदेशले धेरै पहिला देखि आवाज उठाउँदै आएको छ । यो संविधानमा लेखिएको काम नै हो ।’
प्रदेशमा कुनै कम्पनी खोल्नु पर्यो भने काठमाडौं जानु नपरोस्, प्रदेशकै राजधानीमा त्यसको फैसला होस् भनेर त्यसका लागि स्थानीय स्तरमै कर्मचारी प्रशासन चाहिने नेता निधिले बताए ।सके सम्म आफ्नो देशमा नै रोजगारी गर्नुपर्नेमा जोड दिंदै उनले बाहिर गएर सिकेका सीप नेपाल आएर सदुपयोग गर्न सकिने बताए ।
पढेर बाहिर गएर काम गर्ने प्रचलन बढेको भन्दै नेता निधिले तर आफ्नो स्थानमा त्यही शिक्षा प्रयोग गरेर खेतीको आधुनिकीकरण गर्ने, उत्पादन मूलक काम र व्यवसाय गर्ने चलन नरहेको र यही कमजोरी भएको बताए ।
एनआर एनए कुनै बैंक नभइ संस्था भएको र यसले पनि लगानी गर्न खोजेको छ भन्दै निधिले यसरी व्यवसायीकरण र औद्यागीकरणको लागि जजसले प्रयास गर्छ,साथ दिनुपर्ने बताए ।‘व्यापार र व्यवसायलाई फराकिलो गर्दै लाने हो भने रोजगारको अवसर प्राप्त हुन्छ’ उनले भने, ‘त्यसका लागि सबै जना लाग्नुपर्छ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्