२३ भाद्र,काठमाडौं: पूर्व-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध लाई अपमान गर्ने प्रयास विरुद्ध फेरि अर्को संघर्ष आवश्यक भएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५औं स्मृति दिवस लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको बलिदान र अधिकार विरुद्ध भइरहेको प्रति क्रान्तिका प्रयास विरुद्ध संघर्ष गर्नु पर्ने स्थिति सिर्जना भएको बताएका हुन् ।

माओवादी आन्दोलन र क्रान्तिका उपलब्धि लाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै उनले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेका हरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए ।
उनले भने,‘हामीले गरेको परिवर्तनकारी र बलिदानी पूर्ण जनयुद्ध लाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं । तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ ।
त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं । गणतन्त्र त अब आउँछ नै, तर यस लाई दलाल पूँजीपति र नोकरशाही हरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं । त्यहाँ नेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरु सँग संघर्ष शुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनै पर्छ ।’
नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भए पछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको भनाइ उनको छ ।
उनले जनयुद्ध शुरु हुन अघि भएको रामवृक्ष यादवको बलिदानले देश भरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यस पछिका सबै शहादतहरुले क्रान्तिकारीहरु लाई प्रतिशोधको भावना सहित अघि बढाउन सहयोग गरेको बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्