२८ भाद्र,काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मंच बाट सम्बोधन गर्दै जनयुद्ध लाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताएका छन् ।
भोलि बाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरे पछि उनीहरुले यस्ता धारणा राखेका हुन् । कतिपय शक्तिहरु ले लाखौं जनताको सहभागीता भएको जनयुद्ध लाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिका लाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए ।
‘कतिपय ले माओवादी लाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’, उनले प्रश्न गरे, ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्यौं तर हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादी लाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’
त्यस्तै नेसपाका अध्यक्ष डा. भट्टराईले जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै त्यस क्रममा भएका कतिपय घटना लाई लिएर मूल पक्ष लाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहास प्रतिको सही मूल्यांकन नहुने बताए ।
‘बच्चा जन्मदा साल-नाल सहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चा सँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुशीयाली हो,’उनले भने, ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनु पर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनता लाई दिएको मुक्ति र खुशी नै जनयुद्धको मूल पक्ष हो ।’



















आफ्नो प्रतिकृया दिनुहोस्