०३ चैत्र, जनकपुरधाम: भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) ले भारतले नेपाल लाई हिन्दु-राष्ट्रको रूपमा देख्न चाहेको बताएका छन्। साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सधैं हिन्दु-राष्ट्रको पक्षमा रहेको उल्लेख गरे।
“नेपालमा राजसंस्था आवश्यक छ, किनकि यो एक अभिभावकको रूपमा रहन्छ। नेपालका नेताहरू बाध्य भएर गणतन्त्र रोज्नु परेको छ, र उनीहरूले मेरो कुराकानीमा बाध्यताका कारण राजसंस्था हटाउनु परेको बताएका छन्। नेपालमा देवी-देवता, देउराली, ढुंगा, आकाश-पाताल, पृथ्वी, कुल आदिको पूजा-आजा गरिँदै आएको छ, जसले राजसंस्थाको अलग्गै महत्व दर्शाउँछ,” उनले भने। उनले राजसंस्था र हिन्दुराष्ट्र एकअर्काका परिपूरक भएको पनि बताए।
योगी आदित्यनाथको समर्थन
हालै काठमाडौंमा राजसंस्थाको समर्थनमा भएको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएको विषयमा उनले प्रतिक्रिया दिएका छन्। “गोरक्षपीठाधीश्वर योगी आदित्यनाथले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ वडामहाराजधिराज’ भनेर सम्बोधन गर्नु हुन्छ। उहाँ राजसंस्था कायम होस् भन्ने चाहनु हुन्छ,” उनले भने।
नेताहरूको भाषा र देशको अवस्था
कालीदास बाबाले केही नेताहरूले राजसंस्थावादीहरू प्रति अपशब्द प्रयोग गरेर गाली गरेकोमा आपत्ति जनाए। उनले भने, “देश नै उत्तेजित भएको बेलामा उच्च पदस्थ नेताहरूले अपशब्द प्रयोग गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेका छन्। यस्तो संवेदनशील समयमा शान्ति कायम राख्नु पर्नेमा झन् द्वन्द्व भड्काउने प्रयास भइरहेको छ।”
रेमिटेन्स र प्राकृतिक स्रोतहरूको दोहन
उनले विदेशमा श्रम गरेर पठाएको रेमिटेन्स नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरिरहेको आरोप लगाए। “हाम्रा युवाहरू विदेशमा पसिना बगाएर पठाएको पैसा करको रूपमा उठाएर नेताहरूले आफ्नो स्वार्थ पूरा गरिरहेका छन्। जलस्रोत, खनिज पदार्थ, जडीबुटी जस्ता प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल आज धरधरी रोइरहेको छ,” उनले भने।
उनले हाल नेपाल विभिन्न संकटहरूसँग जुधिरहेको र देशको भविष्य अनिश्चित बनेको पनि बताए। “नेपाल आज यस्तो अवस्थामा पुगेको छ जहाँ मुलुक रहने हो कि डुब्ने भन्ने प्रश्न उठ्न थालेको छ,” उनले चेतावनी दिए।



















आफ्नो प्रतिकृया दिनुहोस्