२९ जेठ,रौतहट: रौतहटको राजपुर बमकाण्डमा नेपाली कांग्रेसका पूर्व-सांसद आफताब आलम लाई सफाइ दिने न्यायाधीश माथि कालो मोसो दलिएको छ। वीरगञ्ज स्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासका न्यायाधीश डा. खुसीराम थारु माथि नेकपा बहुमतका कार्यकर्ताहरूले कालो मोसो प्रहार गरेका हुन्।
कालो मोसो दल्दै उनीहरूले “नेकपा बहुमत जिन्दाबाद,” “जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्ने लाई कारबाही गरियोस्” जस्ता नारा लगाएका थिए। उनीहरूले नेकपा बहुमत पार्टीले नेपाल भर भ्रष्टाचार विरुद्ध यसरी नै कारबाही गर्ने बताएका छन्।
कार्यकक्षमै पुगेर कालो मोसो दलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। कालो मोसो प्रहार गरे लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।केही दिन अघि न्यायाधीश थारु सहितको इजलासले ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्व-सांसद आफताब आलमलाई सफाइ दिएको थियो।
२०६४ चैत २७ गते पहिलो संविधान सभाको चुनावको अघिल्लो दिन इँटा-भट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले पूर्व-सांसद आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै आलम लाई सफाइ दिएको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्