हेटौंडा । हेटौंडामा अत्याधुनिक प्रविधियुक्त पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा पुगेको छ।हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँगको सहकार्यमा निर्माण गरिरहेको यो प्रयोगशाला सञ्चालनमा आउन अब धेरै समय लाग्ने छैन।
आवश्यक उपकरण जडान कार्य सम्पन्न भइसकेको छ भने परीक्षणमा प्रयोग हुने रसायन किट ल्याउने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।यस प्रयोगशालाको निर्माण उद्देश्य पानीको गुणस्तरलाई वैज्ञानिक, मापदण्डअनुसार र विश्वसनीयढंगले परीक्षण गर्न सकिने बनाउनु हो। हाल सम्म सामान्य उपकरण मार्फत पानी परीक्षण हुँदै आएकोमा अब भने अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएकाले परीक्षणको नतिजा अझै बढी सटीक र भरपर्दो हुने विश्वास लिइएको छ।
बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार, प्रयोगशालाका लागि ३१ लाख रुपैयाँको टेन्डर आह्वान गरिएको थियो। त्यस अनुसार काठमाडौँ स्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति र जडानको जिम्मा पाएको थियो। कम्पनीले सम्झौता भएको ४ महिना भित्र सबै उपकरण जडान गरिसकेको छ।
प्रयोगशालाबाट सुरुवाती चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ र त्यसको कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ परीक्षण मध्ये १४ वटा परीक्षण गरिने छन्। ती परीक्षणमा भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षणहरू समावेश हुनेछन्। बाँकी परीक्षणका लागि चाहिने थप रसायन तथा विशेषज्ञ प्राविधिकको व्यवस्था सँगै प्रयोगशालाको सेवा क्रमिक रूपमा विस्तार गरिने बोर्डका प्रशासन प्रमुख माधव चौलागाईंले जानकारी दिए।
उनका अनुसार, ‘२०७५ साल देखि बोर्डले सामान्य उपकरणप्रयोग गरी परीक्षण गरिरहेको थियो। अहिलेको यो आधुनिक प्रयोगशालाले गुणस्तरीय, मापदण्डअनुसार र विश्वसनीय परीक्षणको सुविधा उपलब्ध गराउने छ। यसले नजिकका जिल्ला समेत सेवा पाउने छन्।’
प्रयोगशालाको सञ्चालनले मकवानपुर मात्रनभई बागमती र मधेस प्रदेशका अन्य जिल्ला बाट ल्याइने पानीका नमूनाहरूको समेत परीक्षण गर्न सकिने छ। यसले उपभोक्तालाई आफ्नो खानेपानीको गुणस्तरबारे जानकारी प्राप्त गर्न थप सहज बनाउने छ। साथै, उपभोक्ताको स्वास्थ्य सुरक्षाका दृष्टिले पनि प्रयोगशालाको यो योगदान महत्वपूर्ण मानिएको छ।
प्रयोगशालाबाट हेटौंडा–२ स्थित बोर्डको कार्यालय बाटै सेवा सुरु गरिनेछ। उपभोक्ताले आफ्नै स्रोतको पानी परीक्षण गराउन नमूना ल्याउन सक्नेछन्, जसको विस्तृत रिपोर्ट केही दिनमै उपलब्ध हुने व्यवस्था मिलाइने छ।
यस अत्याधुनिक प्रयोगशालाको सञ्चालन पछि हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड पानीको गुणस्तरमा अझै बढी विश्वास र पारदर्शिता कायम गर्ने दिशा तर्फ अग्रसर भएको देखिन्छ। स्थानीयतहमै यस्तो सुविधा स्थापना हुनु उपभोक्ताको हितमा महत्वपूर्ण उपलब्धि मानिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्