(धनुषा), ३ असार : मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समिति मध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनु भएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समिति मध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको हो ।
विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शङ्कर प्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतिश कुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदा दास पहाडी, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जु कुमारी थापामगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीका रुपाकुमारी यादव सभापतिमा चयन हुनुभएको छ ।
विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आज पद तथा गोपनियताको शपथ गराउनु भयो । उहाँहरुले आजै पदभार पनि ग्रहण गर्नु भयो । कृषि तथा भूमि व्यवस्थापन र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी छ । मधेस प्रदेशमा अर्थ तथा योजना समितिमा सभापति सहित ११, कृषि तथा भूमि व्यवस्थापन समितिमा १२, प्रदेश मामिला समितिमा नौ, प्राकृतिक स्रोत तथा वातावरण समितिमा १२, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा १३, विकास समितिमा १२ र सार्वजनिक लेखा समितिमा १५ सदस्य रहन्छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्