काठमाडौं : मधेस प्रदेश सरकारले संघीय सरकारलाई ६ बुँदे माग राख्दै बिहीबार ज्ञापनपत्र बुझाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्रीले ३० दिनभित्र सबै माग पूरा गछौं भन्ने प्रतिक्रिया दिएको बताए ।उनले आफूहरुको माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले तपाईंहरुको माग जायज छ । ३० दिनभित्र प्रदेशका माग सम्बोधन गर्छौं भन्नु भएको छ । त्यो भएन भने हामी सबै दल बस्छौं । धर्ना बस्छौं । आन्दोलन गर्छौं । जेजे गर्नुपर्ने हो सबै गछौं ।’
उनले शान्ति सुरक्षाको अधिकार संविधानले प्रदेशलाई दिएको भए पनि प्रहरी प्रशासन आफूहरुसँग नभएको गुनासो गरे ।मधेस सरकारले प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थ सम्बन्धी समस्या र अभियोजन सम्बन्धमा आधारित भई ज्ञापन बुझाएको हो ।मुख्यमन्त्री यादवले संघबाट प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाई र कमिशनखोरी हुने गरेको आरोप पनि लगाए ।



















आफ्नो प्रतिकृया दिनुहोस्