७ पौष,जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रम लाई रामसीता दुवै सँग जोडेर प्रसार गरिनु पर्ने बताएका छन् ।
भारतको उत्तर प्रदेश सरकार अन्तर्गत पर्यटन विभागको आयोजना र जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको सह-आयोजनामा जनकपुरधाममा भइरहेको दुई दिने अन्तर्राष्ट्रिय रामायण कन्कलेभमा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

मिथिलामा अवध राजकुमार रामको आगमन र धनुष यज्ञ बाट शुरु भएको रामकथा सीताको चर्चा बिना पुरा नहुने भन्दै उनले सीताराम सँग जोडिएका ठाउँको विकास तथा प्रवर्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेट समेत विनियोजन गरिसकेको सीता सर्किट लाई जोड्नु पर्ने बताए ।
मुख्यमन्त्री सिंहले त्रेतायुग बाट शुरुवात भएको सम्बन्ध लाई अहिले निरन्तरता मात्र दिनु पर्ने भन्दै राम मन्दिर निर्माण पछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालु भक्तजनहरू लाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारत तथा भारतीय राज्य उत्तर प्रदेश सरकार सँग आग्रह गरे ।
सीताको दर्शन बिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनु पर्ने र दुवैसँग जोडिएका ठाउँका बारेमा डिजिटल जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायण कालीन विचारधारा बाट अवगत हुनेमा जोड दिए ।

उनले भने, ‘सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाह मण्डप लगायतका ठाउँ बारे जानकारी संग्रहित श्रव्य दृश्य र लेख्य सामग्री डिजिटल पोर्टल मार्फत रामायण सर्किट सँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।’
उनले नयाँ पुस्ता सँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायण कथा लाई साना श्रव्य दृश्य तथा दृश्य मार्फत प्रसार गरिनु पर्ने बताए ।उनले जननकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्ने गरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको बताए ।
उनले सीतारामको पदगमन र गाथा सँग जोडिएका नेपाल, भारत र श्रीलंकाका विभिन्न स्थानमा रामायण चर्चा सँगै पौराणिक कथाका बारेमा जागरण तथा खोज अनुसन्धान हुने दृष्टिले रामायण कन्कलेभ महत्त्वपूर्ण भएको औँल्याउँदै ती कुरा लाई लिपिबद्ध गर्दै ठाउँ-ठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको प्रस्ट पारे ।
प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले सीता शक्ति र भक्तिको प्रतीक भएको बताउँदै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दु:ख लाग्ने गरेको बताइन् ।
उनले जानकी भूमिमा महिला हिँसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनु पर्ने उल्लेख गरिन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा भारत तथा नेपालका विद्वान तथा विदुषीहरूले रामार्चन(रामायण चर्चा) गरेका थिए।



















आफ्नो प्रतिकृया दिनुहोस्