७ जेठ,जनकपुर, मधेश प्रदेश: मधेश प्रदेशको ऐतिहासिक र धार्मिक महत्व बोकेको दूधमति नदीको संरक्षण र सौन्दर्यकरणका लागि विभिन्न समितिहरू गठन गरी तीव्र गतिमा उत्खनन तथा विकास कार्य अघि बढाउन तयारी थालिएको छ। यस क्रममा समितिका पदाधिकारीहरूको कार्यक्षेत्र, सेवा सुविधा, र कर्मचारी नियुक्ति सहितको प्रस्ताव सर्व-सम्मत रूपमा पारित गरिएको छ।

बुधवार बसेको दूधमति नदी उत्खनन तथा विकास कार्य कार्यान्वयन उपसमितिको बैठकले कार्य व्यवस्थित रूपमा अघि बढाउन पदाधिकारीहरू लाई विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ। बैठकबाट आवश्यक निर्णयहरू पनि सर्व-सम्मत रूपमा पारित गरिएका छन्।
बैठकमा व्यवस्थापन समिति, प्रचार-प्रसार समिति र प्राविधिक समूहका पदाधिकारीहरूको काम, कर्तव्य, अधिकार, सेवा सुविधा र कर्मचारी नियुक्तिको विषयमा निर्णय लिइएको हो। साथै, स्थापन गरिने कार्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने र नदी तथा पोखरी क्षेत्रमा डुङ्गा संचालन गर्ने निर्णय समेत गरिएको छ।
यस अघि सम्पन्न बैठकमा नदीको विकास निर्माणलाई व्यवस्थित बनाउन व्यवस्थापन समिति, प्राविधिक समूह र प्रचार समिति गठन गर्ने निर्णय भइसकेको थियो। पहिलो चरणमा नदीको बहाव क्षेत्र छुट्याउने प्रक्रिया सुरु भइसकेको छ र यसका लागि बोलपत्र आह्वान पनि गरिएको छ।
धार्मिक रूपमा महत्वपूर्ण मानिने धनुषा र महोत्तरी जिल्लाको कूल ४४ किलोमिटर दूरीमा फैलिएको दूधमति नदीको पहिलो चरणको उत्खनन कार्य उद्गमस्थल देखि साढे ६ किलोमिटर क्षेत्रफल सम्म नाप-नक्सा गरी जग्गा छुट्याएर अघि बढाइने सिचाइ तथा खानेपानी मन्त्री तथा उप-समिति संयोजक शेष नारायण यादवले जानकारी दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्