१७ जेठ,जनकपुर,मधेश प्रदेश: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडक परियोजनाको शिलान्यास गर्ने भएका छन्। प्रदेशका ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत हरेक क्षेत्रमा पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माणको शिलान्यास जेठ १८ गते आइतबार गरिने भएको हो।

जनकपुरधाम स्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्र बाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे डिजिटल माध्यम मार्फत शिलान्यास कार्यक्रम सम्पन्न गर्ने तयारी भएको भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जानकारी दिए। मन्त्री यादवका अनुसार उक्त सडक निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिने छ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालयले आठवटै जिल्लाका ६४ निर्वाचन क्षेत्रमा प्रति क्षेत्रमा पाँच–पाँच किलोमिटरको दरले सडक निर्माण गरिने जानकारी दिएको हो। कुल लागत १२ अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ।

मन्त्री यादवले सडक निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको र सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालय मार्फत ठेक्का प्रक्रिया अघि बढिसकेको बताए। मन्त्रालयका निमित्त सचिव संजय कुमार साहले पहिलो चरणमा सुरु गरिएका ३२० किलोमिटर सडकमध्ये हालसम्म २०० किलोमिटरको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए।
मन्त्रालयका अनुसार शिलान्यास हुने सडकहरू गाउँ भित्र फरक प्रविधिमा र गाउँ बाहिर स्फाल्ट प्रविधिमा कालोपत्रे गरिनेछ। सडकको चौडाइ साढे पाँच देखि सात मिटर सम्मको रहने छ।
सडक सँगै आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एकवटा पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ। साथै, सडक निर्माणका क्रममा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उपायहरू पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्