११ असार, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा बिचौलियाको योजना सांसदले प्रस्ताव गरेका योजना भन्दा बढी समावेश गरिएको आरोप लगाएका छन्।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले बजेटको रेड बुक ले नै बिचौलियाका योजनाको वर्चस्व प्रमाणित गरेको दाबी गरे। उनले योजनाको बाँडफाँडमा मन्त्रीहरूले मनपरी गरेको र सांसदहरूका योजना बेवास्ता गरिएको आरोप समेत लगाए।
सांसद यादवका अनुसार बजेटमा बहुवर्षीय र दीर्घकालीन योजनाको समावेश नभई अघिल्लो सरकारले बनाएको ट्र्याक भन्दा अहिलेको सरकारले विकासमा एक पाइला पनि अगाडि बढ्न नसकेको देखिएको छ। उनले जटही देखि जनकपुर र भिठ्ठामोड देखि जनकपुर सम्म कंक्रिटको पर्खाल निर्माण गरी मिथिला पेन्टिङ प्रवर्द्धन गर्ने प्रस्ताव हास्यास्पद रहेको टिप्पणी गरे।
“यो प्रस्तावले मधेश प्रदेश सरकारले खुला रूपमा भ्रष्टाचार गर्न खोजेको मनसाय प्रष्ट देखिन्छ,” यादवले आरोप लगाए।उनले प्रदेश सरकारले हरित विकासको सट्टा कंक्रिटको संरचना निर्माणमा जोड दिँदै मधेशलाई ‘हरित प्रदेश’ होइन ‘कंक्रिट प्रदेश’ बनाउने प्रयास गरिरहेको बताए।
सांसद यादवले बजेटमा मधेश प्रदेशवासीको आकांक्षा र आवश्यकता समावेश नगरिएको उल्लेख गर्दै हाल विनियोजन विधेयक पारित भइनसकेकाले समयमै बजेटमा परिमार्जन गर्न सुझाव पनि दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्