२६ असार,जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई, जनकपुरधामले धनुषाको लालगढ़मा आयोजना गरेको प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाहरूको सतह उच्च हुँदै जानु खतराको संकेत भएको बताए।
“मौसमीय प्रतिकूलता र वातावरणीय असन्तुलनका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दो छ,” मुख्यमन्त्री सिंहले भने, “चुरे संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकार बीचको समन्वय अपरिहार्य छ।”
चुरे क्षेत्रमा मरुभूमिकरण रोक्न र नदीजन्य पदार्थहरूको दिगो उत्खनन मार्फत वातावरणीय सन्तुलन कायम राख्नुपर्नेमा उनले जोड दिए। उनले वातावरणमैत्री उत्खननबाट प्राप्त स्रोतको निर्यात द्वारा आम्दानी वृद्धि गर्न पनि आग्रह गरे।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ७१.४८ प्रतिशत बजेट खर्च गर्न सफल भएको उल्लेख गर्दै उनले यस उपलब्धिमा संलग्न सम्पूर्ण कर्मचारी र सरोकारवाला लाई धन्यवाद दिएका छन्।
मुख्यमन्त्री सिंहले चुरे संरक्षण र दिगो विकासका लागि दीर्घकालीन योजना र साझा प्रतिबद्धता आवश्यक रहेको बताए।



















आफ्नो प्रतिकृया दिनुहोस्