जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले आम नागरिक सूचनाको हकबाट वञ्चित रहेसम्म देशमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा मंगलबार आयोजित ‘सूचनाको हक कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले नागरिकलाई सूचनाबाट टाढा राखेर सुशासनको कल्पना गर्न नसकिने बताए । उनले सूचनाको हकलाई लोकतन्त्रको महत्वपूर्ण आधार भन्दै प्रत्येक नागरिक सू–सूचित हुनु आजको आवश्यकता भएको उल्लेख गरे ।
मन्त्री लेखीले नागरिकले सूचनाको हकलाई आफ्नो मौलिक अधिकारका रूपमा लिनु पर्नेमा जोड दिँदै, निर्वाचित जनप्रतिनिधि र सरकारी निकायले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु पर्ने धारणा राखे ।
उनले हालका सरकार, मन्त्रालय तथा विभिन्न कार्यालयहरू यस प्रति पर्याप्त जिम्मेवार नदेखिएकोमा असन्तुष्टि व्यक्त गरे । लोकतन्त्र, संघीयता र समावेशिताको स्थायित्वका लागि सूचनाको हक सबैले सहज रूपमा प्राप्त गर्नु पर्ने उनको भनाइ थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले भने मन्त्रालय तथा सरकारी कार्यालयहरूबाट सूचना संकलन गर्न कठिन हुने गरेको गुनासो राखेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्