४ भदौ,जनकपुर। मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वर स्थित प्रादेशिक अस्पतालमा देखिएको सेवा–प्रवाहको लापरबाही बारे चार जना स्वास्थ्यकर्मीलाई तीन दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अधिकृत डा. शिखा अधिकारी, डा. सद्रे आलम तथा स्टाफ नर्स मन्दिका कुमारी यादव र रन्जिता साह लाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
अस्पतालमा उपचार पाउन गाह्रो भएको, स्वास्थ्यकर्मीहरूले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको र सेवाग्राहीलाई समस्या भएको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यस अघि विभिन्न संघ–संस्था तथा सरोकारवालाले जनकपुरधाममा पुगेर मुख्यमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाएका थिए। ज्ञापनपत्रमा अस्पतालमा उपचार सेवा अभावकै कारण जनताले ज्यान गुमाउन बाध्य भएको उल्लेख थियो। त्यसपछि मुख्यमन्त्रीले तत्काल छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएका थिए।
मन्त्रालयले सोधपत्रमा भनिएको छ, “तीन दिन भित्र स्पष्ट जवाफ नआएमा आवश्यक कारबाही अघि बढाइनेछ।” स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले सेवामा लापरबाही गर्ने जो कोही माथि कानूनी कारबाही गर्ने बताए। त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि पदअनुरूप कार्यक्षमता नदेखाउने वा सेवा-प्रवाहमा लापरबाही गर्ने प्रदेश सरकार मातहतका कर्मचारी माथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्