काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्था बमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वमा आएको टोलीले संविधानमा व्यवस्था भए बमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।त्यस्तै, उनीहरुले एक महिना भित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई अल्टिमेटम पुरा भएको भन्दै आफूहरू संघर्षमा जाने चेतावनी समेत दिएकउा छन् ।
जवाफमा प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरता पूर्वक लागिरहेको बताए ।‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो । संघीयताका पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ । संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईहरूले देख्नु भएकै छ ।’, भेटमा प्रधानमन्त्री दाहालले भने, ‘अहिले पनि संघीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरि रहेको छु तपाईहरू सबैले यसमा साथ दिँदै आउनु भएको छ। तपाईहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाउँ’
छलफलमा प्रधानमन्त्री दाहालको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्