२७ बैशाख जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवाद विरुद्धको साझा लडाइँमा मधेश सदैव भारतको साथमा रहने स्पष्ट धारणा व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सिंहले आतंकवाद कुनै एक देशको मात्र समस्या नभएर सम्पूर्ण मानव जातिको साझा शत्रु भएको उल्लेख गरेका हुन्।
मुख्यमन्त्री सिंहले भारतको जम्मु–कश्मीर स्थित पहलगाममा हालै भएको आतंकवादी आक्रमणको घोर निन्दा गर्दै सो घटनामा एक नेपाली सहित २६ जना निर्दोष नागरिकको ज्यान जानु गम्भीर त्रासदी भएको बताए। उनले लेखेका छन्, “ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्, उनीहरू कसैका बाबु, आमाहरू थिए, छोरी, दाजु, साथी थिए। ती ज्यानहरू सँगै सयौं सपना पनि चकनाचुर भए।”
सिंहले भारत सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि लिइरहेका कठोर र साहसी निर्णयहरूको समर्थन गर्नु सबैको कर्तव्य भएको बताएका छन्। “जब कुनै राष्ट्र बारम्बार आतंकको निशानामा पर्छ, तब प्रतिकार गर्नु मात्र अधिकार होइन, दायित्व पनि हो,” उनले भने।
उनले मधेश प्रदेश र यहाँका जनता सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिएको स्मरण गराउँदै भने, “मधेशले इतिहास भरि अनेकौं पीडा र संघर्षको सामना गरेको छ, त्यसैले हामी आतंकका विरुद्ध सधैं दृढतापूर्वक उभिन तयार छौं।”
मुख्यमन्त्री सिंहको यो अभिव्यक्ति भारतप्रति ऐक्यबद्धता दर्शाउने साथै आतंकवाद विरुद्धको साझा मोर्चालाई सशक्त बनाउने दिशामा आएको टिप्पणी गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्