५ जेठ,जनकपुरधाम, (मधेश प्रदेश) : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहा जिल्लाको लहानमा निर्माण हुन लागेको डा. भीमराव अम्बेडकर पार्कले जनतालाई शिक्षित हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
जनकपुरधाममा सोमबार आयोजित ऋषिवंश एकता सेवा समाज नेपालको छैठौं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले डा. अम्बेडकरले ३२ वटा डिग्री हासिल गरेको उल्लेख गर्दै, “उहाँको प्रतिमा हेरेर जनता शिक्षाको महत्व बुझ्नेछन्,” भने।

मुख्यमन्त्री सिंहले भारतमा डा. अम्बेडकरले तयार पारेको संविधान अझै पनि लागूमा रहेको उदाहरण दिँदै, पार्कको नाममा कुनै पनि प्रकारको राजनीतिक लाभ लिने उद्देश्य नरहेको स्पष्ट पारे। उनले आफ्नो र पार्टीको उद्देश्य केवल सामाजिक जागरण भएको बताए।
त्यसै गरी, मुख्यमन्त्री सिंहले मुसहर समुदायमा शिक्षा अत्यन्तै कमजोर भएको उल्लेख गर्दै, त्यसले समुदायलाई पछाडि पारेको बताए। उनले मुसहर समुदायका लागि कम्तीमा एसईई सम्मको शिक्षा र विवाहको न्यूनतम उमेर २० वर्ष राख्न सुझाव दिए। साथै, आगामी बजेटमा उक्त समुदायका लागि विशेष प्याकेज ल्याउने आश्वासन पनि दिए।
कार्यक्रममा उनले लहानको दिनाभद्री क्षेत्रमा जग्गा उपलब्ध भएमा “दिनाभद्री पार्क” र “दिनाभद्री म्यूजियम” निर्माणका लागि समेत आगामी बजेटमा आवश्यक रकम विनियोजन गरिने घोषणा गरे।



















आफ्नो प्रतिकृया दिनुहोस्