जनकपुर, मधेश प्रदेश: मधेश प्रदेशका गृहमन्त्री तथा सञ्चार र कानून मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका राजकुमार लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्र र शहीद परिवारलाई विशेष प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन्।
जनकपुरमा पत्रकारहरू सँगको छलफलमा मन्त्री लेखीले बजेट निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूका लागि विशेष प्याकेजको व्यवस्था गरिने बताए। उनले पत्रकारहरूको दुर्घटना बीमा, ज्येष्ठ पत्रकारको सम्मान, साथै जिल्ला स्तरका पत्रकार महासंघहरू लाई फर्निचर र उपकरण उपलब्ध गराउने योजना बारे जानकारी दिए।
“आठ वटै जिल्लामा कार्यरत पत्रकार महासंघहरू लाई आवश्यक फर्निचर र प्रविधि उपकरण प्रदान गर्न बजेटमा व्यवस्था गरिँदैछ,” मन्त्री लेखीले भने।
शहीद परिवारका लागि बजेट मार्फत विभिन्न सुविधाको व्यवस्था गरिने उल्लेख गर्दै मन्त्री लेखीले छोराछोरी लाई छात्रवृत्ति, रोजगारीका लागि सीपमूलक तालिम तथा तालिम पछि उपयोगी सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू बजेटमा समावेश गरिने बताए।
उनका अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र आगामी जेठ १५ गते लगत्तै बजेट सार्वजनिक गरिनेछ।



















आफ्नो प्रतिकृया दिनुहोस्