८ जेठ,जनकपुर, (मधेश प्रदेश): मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रादेशिक अर्थतन्त्र लाई सुदृढ बनाउने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ , मधेश प्रदेश द्वारा जनकपुरधाममा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषि विद्युतीकरण र सिँचाइ व्यवस्थापनका लागि प्रदेश सरकारले अधिकांश स्थानीय तहलाई अनुदान उपलब्ध गराएको बताए।

स्टार्टअप कार्यक्रमको सन्दर्भमा उनले बैंकहरूको सहयोग नपुगेकाले कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा वीरगन्जमा स्टार्ट अप र इन्क्युबेसन सेन्टर स्थापनाका लागि बजेट छुट्याउने जानकारी दिए।
मुख्यमन्त्री सिंहले समष्टिगत आर्थिक नीतिको निर्माणमा राजनीतिक दलहरू बीचको एकता आवश्यक रहेको औँल्याउँदै, प्रदेश सरकारले आवश्यकता र औचित्यका आधारमा नीतिगत स्पष्टता तथा सुशासन मार्फत आर्थिक क्षेत्रलाई गति दिने बताए।
उनले राजस्व संकलनमा प्रदेश सरकारको कानुनी अधिकार कमजोर रहेको र त्यसलाई व्यवस्थित गर्न संघीय सरकारसँग समन्वय गरिने बताए। साथै, भारतीय पर्यटकको नेपाल आवागमन सहज बनाउन भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा सहजीकरण गरिने जानकारी समेत दिए।

सेतो अण्डा आयात रोक्न निर्देशन
कुखुरा र अण्डामा आत्मनिर्भरता बढाउने लक्ष्य सहित सेतो अण्डाको आयात रोक्न सुरक्षा अधिकारी लाई निर्देशन दिइसकेको उनले स्पष्ट पारे।
क्यासिनोबारे कडा चेतावनी
मुख्यमन्त्री सिंहले वीरगन्जका दुई क्यासिनोका कारण धेरै नेपाली नागरिक बिचल्लीमा परेको उल्लेख गर्दै गैरजिम्मेवार क्यासिनोहरू लाई आवश्यक परे ताल्चा लगाउने चेतावनी दिए। “नेपालीलाई बिचल्ली बनाउने क्यासिनो बन्द गर्नु पर्छ,” उनले भने।
गुठी ऐन ल्याउने तयारी
प्रदेशमा उद्योग र पूर्वाधार विकासका लागि आवश्यक जमिन व्यवस्थापन गर्न गुठी ऐन ल्याउने तयारी भइरहेको मुख्यमन्त्री सिंहले जानकारी दिए।
कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, उद्योग तथा पर्यटन मन्त्री सकिल मियाँ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानी र वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम लगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्