१३ जेठ,जनकपुरधाम,मधेश प्रदेश : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको सीमावर्ती सहर जयनगर स्थित द कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (CAIT) का पदाधिकारीहरू बीच मंगलबार व्यापार–व्यवसाय सम्बन्धी विषयमा विशेष छलफल भएको छ।
छलफलका क्रममा CAIT जयनगरका अध्यक्ष प्रीतम बेरुलियाले नेपाल–भारत बीचको अन्तरदेशीय व्यापारमा देखिएका समस्याहरू बारे आफ्ना धारणा राखे। उनले नेपाल सरकार द्वारा लागू गरिएको कर प्रणालीका कारण सिमापार व्यापार प्रभावित भएको उल्लेख गर्दै भन्सारमा लिइने अत्यधिक करका कारण अवैध व्यापार (चोरी–पैठारी) बढेको गुनासो गरे। साथै, भारतमा जस्तै नेपालमा पनि एकीकृत कर प्रणाली (GST) लागू गर्न सुझाव दिँदै त्यसले व्यापारमैत्री वातावरण निर्माणमा टेवा पुग्ने धारणा राखे।
बेरुलियाले भारत–नेपालबीचको ऐतिहासिक बेटी–रोटी सम्बन्धलाई ध्यानमा राखी व्यक्तिगत प्रयोजनका लागि साना परिमाणमा सामग्री ल्याउनेहरू लाई सहुलियत दिनु पर्नेमा जोड दिए। साथै, भारत सरकार द्वारा निर्माणाधीन “रामायण सर्किट” जस्तै “सीता सर्किट” मधेश प्रदेशमा विकास गर्न सके दुबै देशका धार्मिक पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सुझाव पनि दिए।
मुख्यमन्त्री सिंहले छलफलमा सीमावर्ती क्षेत्रमा देखिएको व्यापारिक असहजता, सुरक्षाको समस्या तथा अवैध गतिविधिहरूका बारेमा धारणा राखे। उनले विगतमा भारतीय सुरक्षाकर्मीहरूले नेपाली नागरिक र व्यापारीहरूलाई अनावश्यक रूपमा दु:ख दिएको घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिको निगरानी गर्न CAIT पदाधिकारीहरू लाई आग्रह गरे।
मुख्यमन्त्रीले सीमावर्ती क्षेत्रमा लागुऔषधको प्रयोगमा संलग्न युवाहरूको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसले दुबै देशको भावी पुस्तामा नकारात्मक असर पारिरहेको बताए। साथै, भारत बाट जनकपुरधाम सम्म आउने सवारी साधनहरूका लागि सवारी कर नलाग्ने वातावरण बनाउन प्रदेश सरकार पहलरत रहेको जानकारी पनि दिए।
छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी, भारतीय सञ्चारकर्मी, र उद्योगी–व्यवसायीहरूको समेत उपस्थिति थियो। कार्यक्रममा CAIT, जयनगरका पदाधिकारीहरूले मुख्यमन्त्री सिंह लाई जयनगर भ्रमणको लागि निमन्त्रणा दिएका थिए।



















आफ्नो प्रतिकृया दिनुहोस्