१५ जेठ,जनकपुर: मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आगामी जेष्ठ २१ गते, बुधबार दिउँसो १ बजे देखि शुरु हुने भएको छ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादव द्वारा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार, जेष्ठ ११ गते बसेको प्रदेश मन्त्रिपरिषद् को बैठकको निर्णयका आधारमा प्रदेश प्रमुख बाट अधिवेशन आह्वान गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, “माननीय प्रदेश प्रमुखज्यू बाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेष्ठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विक्रम संवत् २०८१ सालको जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”
उक्त अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट सम्बन्धी छलफल, साथै केही महत्वपूर्ण विधेयकहरू प्रस्तुत हुने जनाइएको छ। अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक तयारीहरू भइरहेको प्रदेश सभा स्रोतले जानकारी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्