१९ जेठ ,जनकपुरधाम: मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आगामी असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन आयोजना हुने भएको छ। उक्त सम्मेलनको औपचारिक घोषणा शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारी ले सोमबार एक पत्रकार सम्मेलन मार्फत गरेकी हुन्।

मन्त्री तिवारीका अनुसार सम्मेलनको उद्देश्य प्रदेश र राष्ट्रिय शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउन बहस र विचार–विमर्शको नयाँ थालनी गर्नु हो।
उनले भनिन्,“यो सम्मेलनले वर्तमान शिक्षा प्रणालीका जटिलता, चुनौती र सम्भावनालाई समेटेर नव-प्रवर्तनशील रणनीतिहरू निर्माण गर्ने आधार तयार पार्ने छ। मधेश प्रदेश लाई प्राथमिकतामा राख्दै देशको सम्पूर्ण शिक्षा क्षेत्रको विकासका लागि सहकार्य र विचार आदान–प्रदानका नयाँ ढोका खोल्ने छ।”
सम्मेलनमा उच्चस्तरीय सहभागिता
सम्मेलनमा देशका सातै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरू, विश्वविद्यालय, अनुसन्धान संस्था तथा शिक्षा विज्ञहरू, साथै शिक्षक संगठन, विद्यार्थी संगठन, र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

मन्त्री तिवारीले सम्मेलनले शिक्षा क्षेत्रमा क्रियाशील सबै सरोकारवाला पक्षहरूलाई एउटै साझा मञ्चमा ल्याउने र शिक्षा सुधारका विभिन्न पक्षमा गम्भीर र रचनात्मक छलफल गरिने जानकारी दिइन्।
मन्त्री तिवारीका अनुसार सम्मेलनले शिक्षा सुधारका निम्ति नीति निर्माण, पाठ्यक्रम सुदृढीकरण, शिक्षण विधि रूपान्तरण, तथा शिक्षा प्रणालीमा नवप्रवर्तन ल्याउने विषयमा मार्गचित्र तय गर्नेछ।
साथै, सम्मेलनमा दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, शैक्षिक संस्थाहरू, शिक्षाविद्हरू र सरकारी अधिकारी बीच समन्वय बलियो बनाउने प्रयास गरिने छ।उनले सम्मेलनले देशको शिक्षा क्षेत्र लाई समावेशी, गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउने दिशामा ठोस सिफारिसहरू प्रस्तुत गर्ने अपेक्षा व्यक्त गरिन्।



















आफ्नो प्रतिकृया दिनुहोस्