११ असार,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली दिन प्रतिदिन कमजोर बन्दै गएको भन्दै सुधारको नेतृत्व स्थानीय तहले लिनु पर्ने आवश्यकता औंल्याएका छन्।
मंगलबार महोत्तरी स्थित औरही नगरपालिकाको १६औं नगरसभा लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको, शिक्षक र अभिभावक दुवैको लापरवाही बढ्दै गएको र विद्यालय तहमै लागू औषध दुर्व्यसन फैलँदै गएको चिन्ता व्यक्त गरे।

“एक समय मधेशका जनशक्तिहरूले शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा राष्ट्रिय नेतृत्व गर्थे,” उनले भने, “तर आज स्थिति यस्तो छ कि मधेशमै शिक्षा नाजुक अवस्थामा पुगेको छ। अब नेतृत्व स्थानीय तहले लिनैपर्छ।”
मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयहरूमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण शिक्षाको गुणस्तरमा गिरावट आएको बताए। “भर्ना भए पछि शिक्षक र अभिभावक दुवैको जिम्मेवारी सकियो भन्ने सोच हावी छ,” उनले भने, “यही प्रवृत्तिले शिक्षा प्रणालीलाई संकट तर्फ धकेलेको छ।”

विद्यालय तहका बालबालिका लागूऔषधको दुर्व्यसनमा फस्दै गएकाले सामाजिक रूपमा तत्काल नियन्त्रणको खाँचो रहेको उनले चेतावनी दिए। “शिक्षा सुधारको मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ,” सिंहले भने, “लागू औषधको समस्या अब विद्यालयमै देखिन थालिएको छ, तर यस प्रति समाज अझै उदासीन छ।”
मुख्यमन्त्री सिंहले निजी विद्यालयहरूमाथि पनि आलोचना गर्दै भने, “मधेशका निजी विद्यालयहरू विद्यार्थीको क्षमता विकास भन्दा पनि प्रमाणपत्र वितरणमै सीमित छन्।”
उनले सामुदायिक र निजी दुवै प्रकारका विद्यालयमा सुधारका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूले सक्रिय भूमिका खेल्नु पर्नेमा जोड दिए।सभामा नगर प्रमुख प्रदीप कुमार खड्काले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्