१२ असार,जनकपुरधाम । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले जनकपुरधाममा निर्माण हुन लागेको विद्युतिय शवदाह गृहको स्थलगत निरीक्षण गरेका छन्। प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको यो परियोजनाको निर्माण स्थल जनकपुरधाम वडा नम्बर ४, गंगासागर पोखरीको डिलमा अवस्थित छ।
बिहीबार मन्त्री यादव सँगै मन्त्रालयका निमित्त सचिव रामकुमार खंग, खानेपानी महाशाखाका प्रमुख लक्ष्मी प्रसाद पन्त, इन्जिनियर सम्झना लामिछाने लगायतको टोलीले निरीक्षण गरेका थिए। सो अवसरमा स्वर्ग द्वारका संरक्षक पवन सिंघानियाले टोलीलाई निर्माण स्थल र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

करीब ३ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त विद्युतिय शवदाह गृह प्रदेशकै पहिलो पर्यावरणमैत्री शमशानस्थल हुनेछ। अढाई तल्ले भवनमा दुईवटा शवदाह ट्रली बेड, ब्रेञ्चुरी स्क्रबर, वेट स्क्रबर, धुवाँ व्यवस्थापनका लागि चिम्नी तथा अस्थी व्यवस्थापनका पूर्वाधार रहने छन्। परियोजनाका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मन्त्री यादवका अनुसार, यो आयोजना आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले ऐतिहासिक बन्ने छ। विद्युतिय शवदाह प्रणालीले काठको खपत घटाउने, जंगल जोगाउने र प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने छ। परम्परागत विधिबाट शवदाह गर्दा लाग्ने १०–१२ हजार रुपैयाँको साटो यस प्रणालीमा अधिकतम ३ हजार रुपैयाँ मात्र लाग्ने बताइएको छ।
निर्माण सम्पन्न भए पछि शवदाह गृह जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने र सञ्चालनको जिम्मा स्वर्गद्वार समितिलाई दिने निर्णय जेठ १६ गते सरोकारवाला सँगको बैठकमा गरिएको छ।
ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेश भरका दर्जनौँ शमशानस्थल निर्माण तथा सुधार कार्य गरेको र आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्