१२ असार,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश स्तरका सम्पूर्ण खेलाडीलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले खेलकुदमा सक्रिय मधेशका सबै प्रदेश स्तरीय खेलाडीलाई प्रोत्साहन स्वरूप नियमित रूपमा वा वर्षमा एक पटक रकम उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको बताए।

मुख्यमन्त्री सिंहले विगतमा राष्ट्रियस्तरका विभिन्न खेल प्रतियोगितामा मधेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै प्रदेशको गौरव बढाएको उल्लेख गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पारे।
उनले आगामी दिनहरूमा पनि मधेश प्रदेश सरकारको पहलमा विभिन्न खेल प्रतियोगिता आयोजना हुने र त्यसमा अन्य प्रदेशका खेलाडीहरूलाई पनि सहभागी गराइने जानकारी दिए। साथै, उनले युवा-पुस्तालाई खेलकुदमा सहभागी भई आफ्नो क्षमता प्रस्तुत गर्न र प्रदेशको नाम उज्यालो पार्न आह्वान गरे।

मुख्यमन्त्री अन्तर प्रदेश कबड्डी प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो। मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा तीन दिन सम्म चल्ने प्रतियोगितामा सात वटै प्रदेशका टिमहरूले सहभागिता जनाएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्