१५ असार,जनकपुर । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण कृषकहरूलाई शुभकामना दिँदै कृषि क्षेत्रको विकासलाई सर्वोच्च प्राथमिकतामा राख्ने प्रदेश सरकारको संकल्प दोहोर्याएका छन्।
मुख्यमन्त्री सिंहले कृषि क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा चित्रण गर्दै “मधेशले देशलाई खुवाउने” भन्ने दीर्घकालीन अभियान अघि बढाइएको जानकारी दिए। “उत्पादन मधेशमा, विस्तार देशमा” भन्ने नारालाई व्यवहारमा उतार्दै खाद्यान्नमा आत्मनिर्भरता प्राप्त गर्नु सरकारको मुख्य लक्ष्य रहेको उनले बताए।
धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य सहित ‘दुई धान बाली प्रवर्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै उनले माटोको उर्वरता सुधार, सिंचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण तथा व्यावसायीकरणलाई उच्च प्राथमिकता दिइएको जानकारी गराए।
जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमार्फत धान खेतीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
मुख्यमन्त्री सिंहले आधुनिक खेती प्रणाली, उन्नत बीउबिजन, गुणस्तरीय मल तथा सिंचाइ सुविधा कृषकको पहुँचमा सहज रूपमा पुर्याउने काममा सरकार निरन्तर सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय धान दिवसले सबैमा खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने प्रेरणा जगाओस् भन्ने शुभकामना व्यक्त गरे।
“म सम्पूर्ण कृषक दाजुभाइ–दिदीबहिनीप्रति श्रद्धा प्रकट गर्दछु,” उनले भने।



















आफ्नो प्रतिकृया दिनुहोस्