२५असार,जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अयोध्याको धार्मिक पर्यटकलाई जनकपुरधाम सम्म ल्याएर पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका छन्।
जनकपुरधाममा आयोजित पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटनको अपार सम्भावना रहेको बताए। “यदि अयोध्या बाट आउने १० प्रतिशत पर्यटक मात्र जनकपुर ल्याउन सकियो भने, नेपालमा आउने कुल पर्यटक संख्या भन्दा बढी मधेश प्रदेशमै भित्र्याउन सकिन्छ,” उनले भने।
मुख्यमन्त्री सिंहले जनकपुरधाम आउने पर्यटकहरूलाई पाँच दिन सम्म मधेशका प्रमुख पर्यटकीय स्थल भ्रमण गराउने प्याकेज तयार गर्नु पर्ने बताए। साथै, भारतीय नागरिकहरूका लागि डिजिटल भन्सार प्रणालीको व्यवस्था गर्न माग गर्दै नेपाल प्रवेश गर्दा सजिलो होस् भन्ने उद्देश्यले अनलाइन प्रणाली बाटै सवारी भन्सार तिर्न मिल्ने सुविधा आवश्यक रहेको बताए।
धनुषा धाममा रामायणमा उल्लिखित १३६ प्रजातिका वनस्पति राखेर “रामायण वाटिका” निर्माण गरिने जानकारी समेत उनले दिए।कार्यक्रममा पर्यटन व्यवसायी, प्रदेश सरकारका अधिकारी, पत्रकार महासंघका प्रतिनिधि तथा विभिन्न पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्