३२ असार,जनकपुरधाम, मधेश प्रदेश – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादव बीच मंगलबार जनकपुरधाममा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा मधेश प्रदेशमा चुलिँदो खानेपानी समस्याको समाधानका लागि संघीय र प्रदेश सरकारबीच संयुक्त अभियान सञ्चालन गर्ने सहमति भएको छ।
भेटमा दुवै तहका सरकारले आपसमा समन्वय गर्दै खानेपानी संकट अन्त्यका लागि तत्कालै कदम चाल्ने निर्णय गरिएको हो। संघीय र प्रदेश सरकारका सम्बन्धित संयन्त्रहरूलाई सक्रिय गराई, उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्दै समस्या समाधानमा जुट्ने सहमति जुटेको छ।
खानेपानी सँग सम्बन्धित सशर्त योजनाहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउने निर्णयसमेत भएको छ। साथै, जनताले महसुस गर्ने गरी काम गरिनुपर्ने भन्दै सरोकारवाला मन्त्रालय र निकायहरूलाई आवश्यक निर्देशन दिइएको मुख्यमन्त्री सिंहले बताए।
भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेष नारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायत विज्ञ र कर्मचारीहरू पनि सहभागी थिए।
आफ्नो प्रतिकृया दिनुहोस्