५०% समय बित्दा पनि १०% मात्र काम सम्पन्न, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी
१८ साउन,जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुनकोशी–मरिन डाइभर्सन आयोजना अपेक्षित गतिमा अघि नबढेको भन्दै असन्तोष व्यक्त गरेका छन्।मुख्यमन्त्री सिंह भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव सहितको टोली सँगै खुर्कोट स्थित आयोजनाको स्थलगत अनुगमनमा पुगेका थिए।
राष्ट्रिय गौरवको मानिएको यो आयोजना मधेश प्रदेशको सिंचाइ आवश्यकताका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। अनुगमनका क्रममा आयोजनाका पदाधिकारीहरूसँग मुख्यमन्त्री सिंहले प्रगति, संरचना र बाँकी काम बारे छलफल गरेका थिए।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतमले प्रस्तुत गरेको विवरण अनुसार पहिलो चरणको टनेल निर्माण सम्पन्न भए पनि बाँकी दुई चरणको काम हालसम्म जम्मा १० प्रतिशत मात्र पूरा भएको छ। ठेक्का सम्झौता अनुसार ५० प्रतिशत समय बितिसक्दा पनि प्रगति न्यून रहनु आयोजनाको लक्ष्य समयमै पुरा हुन कठिनाइ हुने संकेत भएको उनको भनाइ थियो।

अनुगमन पछि मुख्यमन्त्री सिंहले सुनकोशी–मरिन डाइभर्सन मधेश प्रदेशको सिंचाइका लागि ‘कोशेढुंगा’ सावित हुन सक्ने बताए। तर हालको कार्यगतिले गम्भीर चिन्ता उत्पन्न गरेको भन्दै उनले सम्पूर्ण प्रगति असन्तोषजनक रहेको टिप्पणी गरे। सिंहले अनुगमनमा देखिएका समस्याहरूलाई बुँदागत प्रतिवेदनमा संकलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र आवश्यक ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्