जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेश द्वारा जनकपुरधाममा आयोजित एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले खस्कँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको धारणा राखे ।
उत्कृष्ट उपलब्धि हासिल गरेका विद्यार्थीलाई बधाई दिँदै उनले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । साथै, विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी छुट्टै पहिचान बनाएको स्मरण गर्दै सो पहिचानलाई पुन: कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए ।
लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना अत्यन्त कम हुने अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरी ३९५ पुराना र २११ नयाँ कर्मचारी भर्नाका लागि सिफारिस गर्न सफल भएको मुख्यमन्त्री सिंहले बताए ।
कार्यक्रममा धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिरहा जिल्लाका १४६ जना उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण गरिएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्