१ फागुन,मधेश प्रदेश: जनकपुरधाममा अवैध र अनधिकृत रूपमा सञ्चालित निजी अस्पतालहरू लाई बन्द गर्न मधेश प्रदेश सरकारले थप कडा कदम चालेको छ। प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँह, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिँह र स्वास्थ्य अधिकारीहरू सहित धनुषा प्रहरी प्रमुख उपरिक्षकका टोलीले बिहीबार जनकपुरधामका विभिन्न अस्पतालहरूको अनुगमन गरेका छन्।

केही दिन अघि,मुख्यमन्त्री सिँहले जनकपुरधामका २१ वटा निजी अस्पतालहरूको अनुगमन गर्दै, सेवा सञ्चालन अनुमति नलिएका र नवीकरण नगरेका अस्पतालहरूलाई बन्द गर्न र त्यहाँ उपचाररत बिरामीलाई वैध अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए। ती अस्पतालहरू मध्ये केही सञ्चालकहरूले आफैँ अस्पतालमा ताल्चा लगाएर सेवा बन्द गरेका छन् भने केहीले सरकारको निर्देशनको विरोध गर्दै पुरानै सेवा जारी राखेका छन्।

जनकपुरको पीडारी चोक स्थित जनकपुर मधेश होस्पिटल र रामानन्द चोकमा रहेको जनकपुर गोल्डेन अस्पताल अनुगमन गर्ने क्रममा दर्ता नगराई सञ्चालन भइरहेको पाइएको छ। मुख्यमन्त्री सिंहले दुवै अस्पताललाई शुक्रबार बिहान सम्म रोगीहरूको व्यवस्थापन अन्यत्र गरि ११ बजेसम्म बन्द गर्न निर्देशन दिएका छन्।
यसै क्रममा सरकारी निर्देशनको पालना नगर्ने जनकपुर मोर्डेन अस्पताल एण्ड रिसर्च सेन्टर लाई आजै बन्द गरिएको छ। अनुगमन कार्यमा अवरोध उत्पन्न गर्ने प्रयास गरेको आरोपमा उक्त अस्पतालका सञ्चालक रामभरोश महतोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताएका छन्।
यसै गरी, जनकपुरको रामानन्द चौक स्थित सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको र सरसफाइमा त्रुटि रहेको पाइएको छ ,भने हिरा हस्पिटलको दर्ता कागजात दुरुस्त रहेको पाइएको छ, तर ५० बेड भएको उक्त अस्पतालको आकस्मिक कक्षमा ५ वटा मात्र बेड हुनु पर्नेमा ८ वटा बेड राखिएको पाइएको छ। उक्त कक्षमा तीन वटा बेड घटाउन निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेश मिश्रले जानकारी दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्